काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङमाथि सामाजिक सञ्जालमार्फत तीखो प्रश्न उठाएकी छन् । कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा आफन्त समेटिएको आरोप लागिरहेका बेला उनले नातागोताको विषय उठाउँदै कटाक्ष गरेकी हुन् ।
आशिकाले सार्वजनिक गरेको पोस्टमा ससुरा र भान्जाले नाम फिर्ता लिन नमानेको प्रसंग उल्लेख गर्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हुने कि नहुने भन्ने प्रश्न गरेकी छन् । उनले भान्जा नाताले नजिकको आफन्त पर्ने कि नपर्ने भन्दै नैतिकताको विषयमा पनि प्रश्न उठाएकी छन् ।
उनको भनाइपछि उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीलाई लिएर विवाद चुलिएको छ । सूचीमा ससुरादेखि भान्जासम्मका नाम समावेश गरिएको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना भइरहेको छ ।
विवाद बढेपछि कुलमान घिसिङले सार्वजनिक रूपमा आफूले ससुरा र भान्जालाई सिफारिस नगरेको दाबी गरेका छन् । तर पार्टीको आन्तरिक बैठकमा भने सूचीमा त्रुटि भएको स्वीकार गर्दै सुधार गरिने बताएका थिए ।
यस घटनाले समानुपातिक प्रणालीमा नातावाद र नैतिकताको विषय पुनः बहसमा ल्याएको छ ।














प्रतिक्रिया दिनुहोस्