images
images

हुस्सु–कुहिरोले जनजीवन प्रभावित, काठमाण्डौमा तापक्रम ३.४ डिग्री

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। तराई र पहाडी क्षेत्रका धेरै स्थानमा केही दिनदेखि घाम राम्रोसँग लाग्न सकेको छैन। हुस्सु, कुहिरो र शितका कारण जनजीवन कष्टकर बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ।

हिजो (सोमबार) न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र आइतबार ४ डिग्री सेल्सियस रहेको थियो। लगातार न्यूनतम तापक्रम घट्दै जाँदा उपत्यकामा चिसो थप बढेको महाशाखाले जनाएको छ। मौसम महाशाखाका अनुसार बिहान ५:४५ बजे गरिएको यो प्रारम्भिक मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, जसअनुसार तापक्रम अझै घट्ने सम्भावना रहेको छ।

सोमबार काठमाण्डौको अधिकतम तापक्रम १५.३ डिग्री सेल्सियस मापन गरिएको थियो भने आइतबार १५.७ डिग्री सेल्सियस रहेको थियो। काठमाण्डौ उपत्यकासँगै तराई–मधेश र अन्य क्षेत्रमा पनि चिसो बढेको छ। विशेषगरी तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनेको छ। चिसोका कारण विपन्न वर्ग र दैनिक ज्यालादारी मजदुर बढी मर्कामा परेका छन्।

चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बिरामी पर्ने क्रम बढ्दै गएको छ। झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालगायतका जिल्लामा निरन्तरको हुस्सु र कुहिरोले यातायात, स्वास्थ्य र दैनिकीमा असर पुर्‍याएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौसहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। दिनभर मापन गरिएका तापक्रममध्ये सबैभन्दा कमलाई न्यूनतम र सबैभन्दा बढीलाई अधिकतम तापक्रम मानिन्छ।

प्रतिक्रिया दिनुहोस्