लन्डन । बेलायतमा आजदेखि नयाँ नियम लागू भएसँगै दिउँसोको समयमा जङ्क फूडका टेलिभिजन तथा अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाइएको छ। बाल्यकालको मोटोपनासँग जुध्नका लागि यो कदम चालिएको र यसलाई सरकारले विश्वकै अग्रणी पहलका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ।
बेलायतको स्वास्थ्य मन्त्रालयले चिल्लो पदार्थ तथा नुन वा चिनीको मात्रा अत्यधिक भएका खाद्य तथा पेय पदार्थका विज्ञापनलाई लक्षित गर्दै प्रतिबन्ध लागू गरेको हो। यस अन्तर्गत मिल्कशेक, रेडी–टु–गो कफी, मीठो दहीलगायतका उत्पादनका विज्ञापन पनि प्रतिबन्धित सूचीमा परेका छन्।
नयाँ नियमअनुसार अब राति ९ बजेसम्म यस्ता विज्ञापन टेलिभिजन वा अनलाइन प्लेटफर्ममा प्रसारण तथा प्रदर्शन गर्न पाइने छैन। सरकारले बालबालिकालाई लक्षित विज्ञापनले कम उमेरदेखि नै जङ्क फूडतर्फ आकर्षित गर्ने र त्यसले मोटोपना तथा त्यससँग सम्बन्धित रोगको जोखिम बढाउने निष्कर्ष निकालेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार विज्ञापनमा प्रतिबन्ध लगाइएकै कारण मोटोपनासँग जुधिरहेका बालबालिकाको संख्या करिब २० हजारले घट्न सक्ने अनुमान गरिएको छ। साथै, सरकारले स्थानीय निकायलाई विद्यालय वरपर फास्ट फूड पसल स्थापना रोक्ने अधिकार पनि दिएको छ।
अध्ययनहरूले बेलायतमा जङ्क फूडको अत्यधिक सेवनका कारण बालबालिकामा मोटोपना र दाँतसम्बन्धी समस्या बढ्दै गएको पुष्टि गरेका छन्। ओबेसिटी हेल्थ एलायन्सकी कार्यकारी निर्देशक क्याथरिन जेनरले यस कदमलाई बालबालिकाको स्वास्थ्यलाई हानि पुर्याउने खाना र पेय पदार्थका विज्ञापनबाट जोगाउने दिशामा लामो समयदेखि प्रतीक्षा गरिएको र स्वागतयोग्य निर्णय भएको बताउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्