images
images

बुटवल–लमही ४ सय केभी प्रसारण लाइन निर्माण गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४ सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। कुल १६१ किलोमिटर लामो उक्त प्रसारण लाइन पूर्वी नेपालमा उत्पादन भएको विद्युत् पश्चिमी क्षेत्रमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न निर्माण गर्न लागिएको हो।

यो आयोजना लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा कार्यान्वयन हुनेछ। प्राधिकरणले प्रसारण लाइन प्रभावित क्षेत्रमा वातावरणीय अध्ययनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार पार्न सार्वजनिक सूचना प्रकाशित गर्दै स्थानीय सरोकारवालाबाट सुझाव र सल्लाह मागेको छ।

४ सय केभी क्षमताको उक्त प्रसारण लाइनका लागि ४६ मिटर क्षेत्राधिकार तोकिएको छ। प्रसारण लाइनको केन्द्रबाट दायाँ–बायाँ दुवैतर्फ २३–२३ मिटर क्षेत्राधिकार कायम गरिनेछ। आयोजनाअन्तर्गत कुल ४०५ वटा टावर निर्माण गरिनेछन्। यस्तै, दाङको लमही नगरपालिका–९ स्थित रिहार क्षेत्रमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ।

वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा आयोजनाका कारण त्यस क्षेत्रको प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने प्रभावहरूको मूल्यांकन गरिने सूचनामा उल्लेख छ। आयोजनाबाट पर्न सक्ने सम्भावित प्रभावका सम्बन्धमा आवश्यक जानकारी, राय, सुझाव र सल्लाह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय तथा परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड, ललितपुरमा उपलब्ध गराउन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्