images
images

अमेरिकाद्वारा मादुरो नियन्त्रणमा, न्यूयोर्कमा मुद्दा चलाइने

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अस्थायी रूपमा अमेरिकाले नै शासन सञ्चालन गर्ने घोषणा गरेका हुन्।

अमेरिकी सेनाले शनिबार राजधानी कराकाससहित भेनेजुएलाका विभिन्न शहरहरूमा आक्रमण गरेको बताइएको छ। आक्रमणपछि अमेरिकी सेनाको विशेष आतंकवाद विरोधी इकाइ ‘डेल्टा फोर्स’ ले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत मादुरो पक्राउ परेको तस्बिर सार्वजनिक गर्दै उनलाई अमेरिकी नियन्त्रणमा लिइसकिएको पुष्टि गरेका छन्। सार्वजनिक तस्बिरमा मादुरोलाई हतकडी लगाइएका, आँखामा कालोपट्टी बाँधिएका तथा ग्रे ट्र्याकसुट र हेडफोन लगाइरहेको देखिन्छ।

यससँगै फ्लोरिडास्थित निवासमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने,
“सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ।”

त्यसबेला, अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा चलाइने जनाएको छ। उनीहरूलाई लागुऔषध कारोबारलाई संरक्षण दिएको आरोप लगाइएको छ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीका अनुसार,
मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन तथा खतरनाक हतियार राख्ने र त्यसम्बन्धी षड्यन्त्र जस्ता अभियोग लगाइएका छन्। उनले मादुरो छिट्टै अमेरिकी अदालतमा हाजिर हुने बताएकी छन्। तर मादुरोकी पत्नीमाथि लगाइने आरोपबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

अमेरिकाको यो कदमप्रति रूस, चीन, कोलम्बिया लगायतका देशहरूले तीव्र आपत्ति र कडा निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्