images
images

राष्ट्र बैंकको प्रतिवेदन: अर्थतन्त्र सुधारको बाटोमा

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक गतिविधि बढेको जनाएको छ। केही निकायले आर्थिक वृद्धिदर कमजोर हुने अनुमान गरे पनि राष्ट्र बैंकले यस वर्ष वृद्धिदर औसतभन्दा राम्रो रहने अपेक्षा व्यक्त गरेको छ।

राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मुद्रास्फीति न्यून रहेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धन र खाद्य वस्तुको मूल्य घट्नु, ब्याजदर क्रमशः घट्दै जानु, जलविद्युत् उत्पादन वृद्धि, पर्यटक आगमन बढ्नु तथा निर्यात र विप्रेषणमा सुधार आउनु यसको प्रमुख कारण हुन्। पछिल्ला वर्षमा सुस्त रहेको निर्माण तथा उत्पादनमूलक उद्योग क्षेत्र पनि मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको प्रतिवेदनमा उल्लेख छ, जसले आर्थिक वृद्धि औसतभन्दा माथि जाने संकेत दिएको छ।

चालू आर्थिक वर्षमा तरलता पर्याप्त रहनु, सरकारले सुशासनमा जोड दिँदै पुनर्निर्माण अघि बढाउनु तथा साना र तयारी नपुगेका आयोजनाको बजेट रोक्दै ठूला परियोजनालाई प्राथमिकता दिनुका कारण आर्थिक गतिविधि थप सशक्त हुने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। सो वर्ष कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग क्षेत्रको १२.८ प्रतिशत र सेवा क्षेत्रको ६२ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको १५.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ।

कृषि उत्पादनतर्फ प्रमुख बालीको उत्पादन ३.७ प्रतिशतले बढेको छ भने खेतीयोग्य क्षेत्र २.२ प्रतिशतले घटेको छ। तरकारी उत्पादन १०.१ प्रतिशतले बढ्दा फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ। पशुजन्य उत्पादनमा दूध र मासु घटेका छन् भने अण्डा उत्पादन १ प्रतिशतले बढेको छ। वनजन्य उत्पादनतर्फ काठ र दाउराको उत्पादन बढे पनि औषधिजन्य वस्तुको उत्पादन घटेको छ।

गएको आर्थिक वर्षमा उद्योगहरूको औसत क्षमता उपयोग ४४.५ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षभन्दा कम हो। कूल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ। यसैबीच, पर्यटन क्षेत्रमा सुधार देखिएको छ।

प्रतिक्रिया दिनुहोस्