images
images

जन्मदर वृद्धि गर्न चीनले कन्डममा बढायो कर

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदर बढाउने उद्देश्यसहित गर्भ निरोधक सामग्रीमा कर बढाएको छ। चिनियाँ सरकारले जनवरी १ देखि कन्डम, गर्भ निरोधक चक्की तथा उपकरणहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था लागू गरेको छ।

सरकारका अनुसार बालबालिकाको हेरचाह, विवाहसँग सम्बन्धित सेवा र वृद्ध हेरचाहमा भने कर छुट दिइएको छ। यो कदम अभिभावकीय बिदा विस्तार, नगद सहायता र परिवार प्रोत्साहनसम्बन्धी अन्य नीतिसँग जोडिएको छ।

चीनमा लगातार तीन वर्षदेखि जनसङ्ख्या घटिरहेको छ। सन् २०२४ मा केवल ९५ लाख ४० हजार बच्चा जन्मिएका थिए, जुन एक दशकअघिको जन्मदरको झन्डै आधा हो। बढ्दो बुढ्यौली जनसङ्ख्या र सुस्त अर्थतन्त्रका कारण सरकार युवाहरूलाई विवाह र सन्तान जन्मतर्फ आकर्षित गर्न दबाब बढाइरहेको छ।

तर कन्डममा कर बढाउँदा अनावश्यक गर्भधारण र एचआईभी जोखिम बढ्न सक्ने भन्दै विज्ञ र अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पनि यस निर्णयको आलोचना र व्यङ्ग्य भइरहेका छन्।

जनसङ्ख्याविद्हरूका अनुसार चीनमा जन्मदर घट्नुको मुख्य कारण कर होइन, बच्चा हुर्काउने उच्च खर्च, रोजगार असुरक्षा, शैक्षिक प्रतिस्पर्धा र महिलामाथि पर्ने दोहोरो बोझ हो। कन्डममा कर लगाउने निर्णयलाई कतिपयले प्रतीकात्मक कदम मात्र भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्