images
images

नेपालमै अवसर सिर्जना गर्न आईटी क्षेत्रलाई प्राथमिकता

अर्थमन्त्री रामेश्वर खनालले लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी विस्तारका लागि नेपाल राष्ट्र बैंकसँग निरन्तर समन्वय र संवाद भइरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना तथा प्रविधि (आईटी) सेवा निर्यात गर्ने कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही निःशर्त उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।

आईटी क्षेत्रमा आधारित व्यवसायमार्फत विदेशी पूँजी भित्र्याउने उद्यमीलाई प्रोत्साहन गर्न यो व्यवस्था गरिएको उनको भनाइ छ। उनले विदेशमा रहेका नेपाली नागरिक स्वदेश फर्किएर पनि उस्तै प्रकृतिको काम र पारिश्रमिकमा काम गर्न सक्ने वातावरण तयार गर्न सरकार लागिरहेको बताए। यसका लागि आवश्यक नीति तथा संरचनागत सुधारमा ध्यान दिइएको उनको भनाइ छ।

अर्थमन्त्री खनालले विद्यमान कानुनहरू अध्यादेशमार्फत व्यापक रूपमा संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै आवश्यक नीति र नियममा मात्र संशोधन गरिएको जानकारी दिए। उनका अनुसार आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन भइसकेका छन्।

कांग्रेस महामन्त्री गगन थापाले ‘कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति दिएको सन्दर्भ उल्लेख गर्दै खनालले त्यसलाई यथार्थपरक बताए। “आज कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर महिनाको तीन लाख कमाउने कुरा कुनै कल्पना होइन, यो वास्तविकता हो,” उनले भने।

उनले नेपालमै बसेर रिमोट वर्कमार्फत विदेशी मुद्रा आर्जन गर्ने विषयमा राज्यले समयमै चासो नदिएको पनि स्वीकार गरे। “८–९ वर्षअघि युवाहरूले नेपालबाटै रिमोट वर्क गरेर डलर भित्र्याउन सकिन्छ भने पनि त्यसलाई गम्भीरतापूर्वक लिइएन,” खनालले बताए।

अर्थमन्त्री खनालले जेन–जी आन्दोलनपछिको अवस्थालाई उल्लेख गर्दै पर्यटन उद्योग तथा आन्तरिक र बाह्य लगानीका लागि अझै पूर्ण रूपमा अनुकूल वातावरण बन्न नसकेको बताए। यसतर्फ सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्