काठमाडौँ — आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ६४ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन्।निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका एक सय राजनीतिक दलमध्ये सोमबार र मंगलबार गरी ६४ दलले मात्रै समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची दर्ता गराएका हुन्। निर्धारित समयभित्र ६४ दलबाट कुल तीन हजार चार सय २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
आयोगको विवरणअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत २२ वटा दलले समानुपातिकतर्फका सबै १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। बाँकी दलहरूले न्यूनतम ११ जनादेखि एक सय जनासम्मको बन्दसूची पेश गरेका छन्। बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिममा नेपाली कांग्रेसले बन्दसूची दर्ता गराएको आयोगले जनाएको छ। निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचन अधिकृतको कार्यालयमा रातभर राजनीतिक दलहरू बन्दसूची पेश गर्न व्यस्त देखिएका थिए।
यसअघि निर्वाचन आयोगले एक सय वटा राजनीतिक दललाई ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन स्वीकृति दिएको थियो। आयोगका अनुसार ६४ वटा दल ५८ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा सहभागी हुँदैछन्। तीमध्ये ५४ वटा दल आ–आफ्नै चुनाव चिह्नबाट निर्वाचन लड्नेछन् भने १० वटा दल चारवटा साझा चुनाव चिह्नमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिनेछन्।
निर्वाचन तालिकाअनुसार हिजो समानुपातिकतर्फ बन्दसूची पेश गर्ने अन्तिम दिन रहेकाले दिनभर उम्मेदवार छनोटमा व्यस्त राजनीतिक दलहरू अबेर रातिसम्म आयोगमा पुगेका थिए। आयोगका प्रवक्ता शालिग्राम भट्टराईका अनुसार दलहरूले अस्ति र हिजो पेश गरेका बन्दसूचीको आजदेखि पुस २० गतेसम्म छानबिन गरिनेछ।
छानबिनपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई बन्दसूची मिलाउन समय दिइनेछ। पुस २८ गतेदेखि माघ ३ गतेसम्म मिलाइएको बन्दसूची ठीक छ वा छैन भन्ने पुनः परीक्षण गरिने आयोगले जनाएको छ। आयोगका अनुसार माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ भने माघ २० गते अन्तिम बन्दसूची प्रकाशन गरिनेछ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जना मतदाता रहेका छन्। मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्।










प्रतिक्रिया दिनुहोस्