images
images

जेनजी आयोगमा रमेश लेखकको बयान- हिंसा घुसपैठको परिणाम थियो, माग जायज थिए

काठमाडौं । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमनबाट १९ जना बालबालीकाको हत्या अभियोग लागेका पूर्वगृहमन्त्री रमेश लेखकले आज बयान दिएका छन् ।

भदौ २३ र २४ गते भएको घटना छानबीन गर्न गठित जाँचबुझ आयोगमा उनले बयान दिएका हुन् । उनले लिखित बयान दिएको बताएका छन् ।

लेखकले जेन(जी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३(२४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् ।

सुशासनका लागि जेन(जी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् ।

‘बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्न् ।

२४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने उनको टिप्पणी छ ।

आन्दोलनमा भएको मानवीय क्षतिको पीडाबोध गर्दै आफूले नैतिक जिम्मेवारीसाथ राजीनामा दिएको उनले प्रष्टोक्ति दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्