काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रचार गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को बक्स अफिसमा व्यापार कमजोर देखिएको छ । प्रदर्शनरत चलचित्रको कमाइ कमजोर देखिँदा लगानी उठाउन समेत कठिन हुने संकेत देखिएको छ।
पुस ४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा ९ दिनसम्म ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा फिल्मका १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन्।
अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको चलचित्रमा मेयर बालेन शाहले गीत गाएका छन् भने उनले केही दिनअघि स्वयं फिल्म हेरेर प्रशंसा समेत गरेका थिए। बालेनको सक्रिय प्रचारप्रसार र चर्चाका बाबजुद पनि चलचित्रले दर्शक तान्न सकेको देखिँदैन।
‘झरीपछिको इन्द्रेणी’ मा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल र प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्म हाल दोस्रो सातामा प्रदर्शनरत छ। कमजोर व्यापारका कारण आगामी दिनमा यसको प्रदर्शन अवधि र लगानी प्रतिफललाई लिएर निर्माण पक्ष थप दबाबमा पर्ने देखिन्छ।








प्रतिक्रिया दिनुहोस्