images
images

आक्रोशबाट आशासम्म : रवि–बालेनको राजनीतिक सहयात्रा

काठमाडौं । सडकदेखि सामाजिक सञ्जालसम्म देखिएको जनआक्रोशलाई संस्थागत राजनीतिमा रूपान्तरण गर्ने दाबीका साथ रवि–बालेन सहयात्राले युवामाझ नयाँ आशा जगाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच बृहत् राजनीतिक एकतामा ७ बुँदे सहमति भएको छ। आज बिहान भएको समझदारीअनुसार दुवै जना एउटै दलमार्फत आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएका छन्।

लामो समयदेखि सडक, सामाजिक सञ्जाल र नागरिक आन्दोलनमा देखिँदै आएको जनआक्रोश अब संस्थागत राजनीतिमा रूपान्तरण हुने संकेतका रूपमा रवि लामिछाने र बालेन शाहको राजनीतिक सहयात्रालाई हेरिएको छ।

व्यक्तिगत शैली र पृष्ठभूमि फरक भए पनि भ्रष्टाचार र कुशासनविरुद्धको साझा एजेन्डाले दुवै नेतालाई एउटै मोर्चामा उभ्याएको देखिन्छ। यो सहकार्यलाई केवल सत्ता समीकरणको अभ्यास मात्र नभई आक्रोशको राजनीतिलाई आशा, भरोसा र नीतिगत परिवर्तनतर्फ मोड्ने प्रयासका रूपमा व्याख्या गरिएको छ।

सम्झौतामा रवि लामिछाने रास्वपाकै केन्द्रीय सभापति रहने र निर्वाचनपछिको संसदीय दलको नेताका रूपमा बालेन शाहलाई अघि सारिने उल्लेख छ। बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिने सहमतिपत्रमा स्पष्ट गरिएको छ।

सहमति अनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध थालेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी एक दशकभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

एकतापछि स्थापित हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने र चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख छ।

त्यसैगरी, पार्टी संगठनलाई थप सशक्त बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने सहमति भएको छ। आमनिर्वाचनपछि आवश्यक सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।

सहमतिको अन्तिम बुँदामा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिलाई पनि आह्वान गरिएको छ। रवि–बालेन मिलनलाई वैकल्पिक राजनीतिक धारमा नयाँ उत्साहको संकेतका रूपमा हेरिएको छ।

लामो समयदेखि छरिएको वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा उभ्याउने संकेतका रूपमा रवि लामिछाने र बालेन साहको मिलनलाई हेरिएको छ। आपसी अविश्वास, दूरी र राजनीतिक अड्कलबाजीबीच भएको यो सहमतिले जनस्तरमा फेरि एकपटक परिवर्तन सम्भव छ भन्ने विश्वास जगाएको छ।

भ्रष्टाचार, कुशासन र परम्परागत राजनीतिक संस्कृतिप्रति निराश हुँदै आएको युवा पुस्ताका लागि रवि–बालेन एकता नयाँ आशाको केन्द्र बनेको छ। सडक आन्दोलनदेखि सामाजिक सञ्जालसम्म देखिएको जनआक्रोशलाई संस्थागत राजनीतिमा रूपान्तरण गर्ने दिशामा यो सहमति निर्णायक मोडका रूपमा लिइएको छ।

राजनीतिमा देखिँदै आएको अहंकार, गुटबन्दी र नेतृत्वको द्वन्द्वभन्दा माथि उठेर गरिएको यो मिलनले वैकल्पिक शक्तिको सम्भावनालाई थप स्पष्ट पारेको विश्लेषण भइरहेको छ।

रवि–बालेनको सहकार्यले आगामी निर्वाचनमा मात्र होइन, दीर्घकालीन राजनीतिक संस्कार परिवर्तनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। यही कारण, यो मिलनलाई धेरैले थमिएको उत्साहलाई पुनर्जीवित गर्ने राजनीतिक मोड का रूपमा व्याख्या गर्न थालेका छन्।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि देशभर नयाँ राजनीतिक विकल्पको अपेक्षा बढिरहेको बेला रवि–बालेन भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको थियो । त्यसैको निरन्तरता स्वरूप दुई नेताबीच निरन्तर तीन दिनसम्म छलफल चल्दै आइतबार बिहान करिब ४ बजे सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।

यो सहमति सार्वजनिक भएपछि दुवै पक्षका समर्थकहरूमा उत्साह फैलिएको छ भने नवयुवाप्रतिको राजनीतिक विकल्प बलियो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्