images
images

बालेन–रवि संवाद टुटेपछि बालेन आफ्नै पार्टी अगाडि बढाउने तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँटमा सहमति जुट्न नसकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै पार्टी अगाडि बढाउने तयारी थालेका छन्। लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी को नेतृत्व आफूले सम्हाल्ने कुरा उनले बुधबार आफ्ना निकटस्थहरूसँग बताएका छन्।

सोमबार राति रास्वपा सभापति रवि लामिछाने र बालेनबीच झण्डै ६ घण्टा लामो छलफल भएको थियो। सुरुमा यो संवादलाई ‘सुखद सुरुवात’ का रूपमा लिइए पनि शक्ति बाँडफाँट, संरचनागत भूमिका र नेतृत्वका विषयमा कुरा नमिल्दा वार्ता निष्कर्षविहीन बनेको बालेन पक्षको दाबी छ। बालेन पक्षका अनुसार रविले बालेनलाई होच्याउने खालको प्रस्ताव राख्नुका साथै पछि आफ्ना भनाइ परिवर्तन गरेका थिए।

रविले चितवन पुगेर दिएको सार्वजनिक अभिव्यक्तिले बालेन थप असन्तुष्ट बनेको उनका निकटस्थहरूले बताएका छन्। चितवनमा रविले बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै छलफल नभएको बताएका थिए। यही अभिव्यक्तिलाई बालेनले ‘भित्र एउटा कुरा गर्ने, बाहिर अर्कै कुरा गर्ने’ व्यवहारका रूपमा लिएको स्रोतहरूको भनाइ छ।

बालेनले निकटस्थहरूसँग भनेका छन्, “शक्ति बाँडफाँट सम्मानजनक हुने हो भने रास्वपासँग मिल्न सकिन्छ, नत्र नयाँ कोर्समा अगाडि बढिन्छ।” उनका अनुसार रास्वपासँग सहकार्यको न्यूनतम सर्त भनेकै आगामी निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने हो।

बालेनका एक सहयोगीका अनुसार, “प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषय हाम्रो बटमलाइन हो। यदि त्यो सम्भव भएन भने देश विकास पार्टीलाई अगाडि बढाउने निर्णय भइसकेको छ।”

बालेनले यसअघि काठमाडौँ महानगरपालिकाको मेयर पद लौरो चुनाव चिह्नबाट जितेका थिए। सोही चिह्न प्रयोग गर्दै ‘हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता गरिएको थियो, जसको नाम हाल परिवर्तन गरी देश विकास पार्टी राखिएको छ। हाल उक्त पार्टीको अध्यक्ष अनन्तराज घिमिरे रहेका छन्।

रविसँगको छलफलपछि बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मुलुकका लागि उपयुक्त नहुने निष्कर्षमा पनि पुगेका छन्। संविधानअनुसार अघि बढ्ने, सीमित संशोधन गर्न सकिने तर एक व्यक्तिलाई अपार कार्यकारी अधिकार दिने व्यवस्था नेपालको भू–राजनीतिक सन्दर्भमा जोखिमपूर्ण हुने उनको धारणा छ। उनका अनुसार पार्टीको मुख्य एजेन्डा सुशासन र विकास हुनेछ, जसको संकेत पार्टीको नाममै झल्किएको छ।

बुधबार बालेनले काठमाडौँको ज्वागलस्थित कुमार बेनको घरमा करिब ९ घण्टा विभिन्न राजनीतिक, सामाजिक तथा व्यावसायिक व्यक्तिहरूसँग छलफल गरेका थिए। ती छलफलमा उनले “लौरो चुनाव चिह्न भएको देश विकास पार्टी अब मेरो हो” भन्ने अभिव्यक्ति दिएको निकटस्थ स्रोतले जनाएको छ।

यसैबीच, बालेनले आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवारको सूची तयारीसमेत सुरु गरिसकेको बताइएको छ। यद्यपि, रास्वपासँग संवादको ढोका पूर्ण रूपमा बन्द भने गरिएको छैन। “आफ्नो तयारी गर्ने, तर रास्वपाको च्याप्टर क्लोज नगर्ने” नीति बालेनको रहेको स्रोतहरू बताउँछन्।

बुधबार बालेनले भगवान कोइराला, सम्भव सिरोहिया, विनोद चौधरी, ज्ञानेन्द्र शाही, रेशम चौधरी लगायत सयभन्दा बढी व्यक्तिसँग एकल तथा सामूहिक छलफल गरेका छन्। ती छलफलमा उनले सहकार्य र समर्थनको सम्भावनाबारे चासो राखेका थिए।

प्रतिक्रिया दिनुहोस्