काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच बैठक सम्पन्न भएको छ। बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा सहमति जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
मंगलबार अपराह्न राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएको हो।
सचिवालयका अनुसार निर्वाचनको अनुकूल वातावरण तयार गर्न थप र विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ। देशको अवस्था गम्भीर र संवेदनशील रहेकाले त्यसको निकासका रूपमा निर्वाचनको घोषणा गरिएको भन्दै निर्वाचन सफल बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभएको छ।
राष्ट्रपति पौडेलले वर्तमान जटिल राजनीतिक परिस्थितिको समाधानका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई सहयोग र प्रतिबद्धताका लागि आग्रह गर्नुभएको जनाइएको छ।










प्रतिक्रिया दिनुहोस्