आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले आज (पुस ८ गते) देखि उम्मेदवार छनोटसम्बन्धी प्रशिक्षण दिन सुरु गरेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा विभिन्न जाति तथा समुदायको कति प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने भन्ने विषयमा दलहरू अन्योलमा परिरहेकाले दुई दिनको प्रशिक्षण आयोजना गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार बन्द सूची बुझाउने प्रक्रिया र अन्तिम रूपमा निर्वाचित घोषणा गर्दा प्रयोग हुने कानुनी ‘फर्मुला’बारे दलहरूलाई स्पष्ट पारिनेछ। प्रशिक्षणमा नयाँ तथा पुराना, साना र ठूला सबै प्रकारका राजनीतिक दलका प्रतिनिधि सहभागी हुनेछन्।
प्रवक्ता भट्टराईले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार समानुपातिकतर्फ समावेशी समूहमा हुनसक्ने परिवर्तनबारे दलहरूलाई ओरिएन्टेसन दिइन लागेको बताए। समानुपातिक निर्वाचनमा निवेदन दिएका सबै १९३ वटा राजनीतिक दलका प्रतिनिधि प्रशिक्षणमा सहभागी हुनेछन्। उनका अनुसार आज दुईतिहाइ काम सक्ने र भोलि बुधबार पनि ओरिएन्टेसन जारी रहनेछ।
पछिल्ला निर्वाचनहरूमा दलहरूले बुझाएका बन्द सूचीहरूमा समावेशी मापदण्ड नपुगेको भन्दै निर्वाचन आयोगले पटक–पटक सच्याउन निर्देशन दिनुपरेको थियो। यसका कारण निर्वाचन प्रक्रिया ढिलो हुनुका साथै अनावश्यक विवादसमेत बढेको थियो। विशेषगरी नयाँ दलहरूका लागि समानुपातिक निर्वाचन प्रणाली बुझ्न थप चुनौतीपूर्ण हुने गरेको आयोगको भनाइ छ।
यसैबीच, निर्वाचन आयोगले समानुपातिकतर्फ सहभागी दलहरूका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। दलहरूले नयाँ समावेशी प्रतिशतका आधारमा उम्मेदवार समूह मिलाएर आगामी पुस १३ र १४ गते बन्द सूची पेस गर्नुपर्नेछ। आयोगको निर्णयसँगै दलहरूलाई आफ्ना उम्मेदवारको सूची पुनः मिलाउनुपर्ने भएको छ।










प्रतिक्रिया दिनुहोस्