काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालको सूचना प्रविधि (आईसीटी) क्षेत्रमा विदेशी लगानीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा आईसीटी क्षेत्रमा विदेशी लगानीका १६ वटा मात्र परियोजना दर्ता भएका थिए, जसमा कुल ७१ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। तर त्यसयता यो क्षेत्रमा विदेशी लगानीकर्ताको चासो र प्रतिबद्धता दुवै निरन्तर वृद्धि हुँदै गएको देखिन्छ।
उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० पछि आईसीटी क्षेत्रमा दर्ता हुने विदेशी लगानी परियोजना र प्रतिबद्धता रकम क्रमशः बढ्दै गएको छ। सरकारले स्वचालित मार्ग (अटोमेटिक रूट)बाट लगानी स्वीकृति दिन थालेको, आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत आईसीटी क्षेत्रलाई अर्थतन्त्रको एक मुख्य खम्बा घोषणा गर्दै ‘सूचना प्रविधि दशक’को अवधारणा अघि सारेको तथा आयकरमा पाँच वर्षसम्म ५० प्रतिशत छुट दिने जस्ता व्यवसायमैत्री नीतिका कारण विदेशी लगानीकर्ता थप आकर्षित भएका हुन्।
गत आर्थिक वर्ष २०८१/८२ मा आईसीटी क्षेत्रमा लगानी प्रतिबद्धतामा उल्लेखनीय उछाल आएको देखिन्छ। सो अवधिमा ३८४ वटा परियोजनामार्फत १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।
चालू आर्थिक वर्ष २०८२/८३ मा पनि विदेशी लगानीको गति उच्च नै देखिएको छ। चालू आवका पहिलो पाँच महिनामै २३६ वटा आईसीटी परियोजनाका लागि ९९ करोड ८९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भइसकेको विभागको भनाइ छ।
सरकारले आईसीटी उद्योगका लागि विदेशी लगानीको न्यूनतम सीमा (थ्रेसहोल्ड) हटाएको र स्वचालित मार्गबाट सहज रूपमा लगानी स्वीकृति दिन थालेपछि यस क्षेत्रमा लगानी प्रतिबद्धता बढेको अधिकारीहरू बताउँछन्। अन्य उद्योगका लागि न्यूनतम २ करोड रुपैयाँको सीमा तोकिए पनि सूचना प्रविधि उद्योगमा यस्तो सीमा नलागु गरिनु पनि लगानी आकर्षणको मुख्य कारण बनेको छ।










प्रतिक्रिया दिनुहोस्