images
images

सरकारको १०० दिन पूरा : निर्वाचन तयारी र वित्तीय सुशासनमा प्रगति भएको प्रधानमन्त्री कार्कीको दाबी

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गठन भएको एक सय दिन पूरा भएको छ। सो अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी र वित्तीय सुशासनमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभएको छ। नवयुवा आन्दोलनपछि भदौ २७ गते गठन भएको सरकारले एक सय दिन पूरा गरेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई परिवर्तनको ढोका खोल्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो।

उहाँले चुनाव सार्ने वा रोक्ने हल्ला निराधार रहेको उल्लेख गर्दै निष्पक्ष, भयरहित र समयमै निर्वाचन गराउन सरकार दृढ रहेको बताउनुभयो। प्रधानमन्त्रीका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। निर्वाचन आयोगका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको, मतदाता नामावली ऐन संशोधन गरी चुनावको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो।

सुरक्षा व्यवस्थामा सुधारका लागि आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद गरिएको, क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइएको र शान्ति–सुरक्षा मजबुत बनाइएको प्रधानमन्त्रीको भनाइ छ। साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मार्फत सुरु गरिएको उल्लेख गर्नुभयो।

वित्तीय सुशासनतर्फ सरकारले फजुल खर्च नियन्त्रण, अनधिकृत सुविधा कटौती, मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र गाडी फिर्ता, अनावश्यक ३८ कार्यालय खारेज र ३२३ दरबन्दी कटौती गरेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुनः प्राथमिकीकरण गरी ठूला विकास आयोजनामा स्थानान्तरण गरिएको, ‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत थपिएको पनि उहाँले जानकारी दिनुभयो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री कार्कीले नवयुवालाई आफ्नो आक्रोश र सपना सडक होइन, मतपत्रमार्फत व्यक्त गर्न आग्रह गर्दै राष्ट्रिय एकतामा बाँधिएर देशलाई स्थिरता र समृद्धितर्फ लैजान सबैलाई आह्वान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्