images
images

एमाले नेतृत्व चयनको मतदान सकियो, नतिजा केही घण्टामै

नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान सम्पन्न भएको छ। बुधबार बिहानदेखि सुरु भएको मतदान केहीबेरअघि मात्र सकिएको हो।निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २७ मत खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता मतदानमा सहभागी हुन सकेनन्।

बुधबार बिहान ९ बजेर २० मिनेटमा सुरु भएको मतदान ८० वटा विद्युतीय मतदान मेसिनमार्फत गरिएको थियो। मतदान प्रक्रिया पूरा हुन करिब साढे २१ घण्टा लागेको निर्वाचन आयोगले जनाएको छ। नयाँ नेतृत्व चयनका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। प्यानलमा नपरेका केही उम्मेदवारहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन्।

उम्मेदवारहरूको सूची लामो भएकाले मतदान प्रक्रियामा समय लागेको मतदाताहरूले बताएका छन्। एक जना मतदातालाई न्यूनतम आधा घण्टादेखि अधिकतम सवा दुई घण्टासम्म समय लागेको थियो। निर्वाचन आयोगले केही बेरमै मतगणना सुरु हुने र करिब तीन घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्