images
images

शेयर बजारमा हरियाली तर कारोबार कमजोर

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से मंगलबार पनि सकारात्मक देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १८.३७ अंक अर्थात् ०.७० प्रतिशतले बढ्दै २,६१९.९९ बिन्दुमा पुगेको हो। परिसूचक उक्लिए पनि कारोबार रकम भने केही घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको छ।

क्यान्डलस्टिक चार्टमा मध्यम आकारको हरियो शरीर र छोटो पुच्छरसहितको मैनबत्ती बनेको देखिन्छ, जसले बजार बढे पनि गति भने कमजोर रहेको संकेत गर्ने जानकारहरू बताउँछन्।

आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रह्यो। फ्लोट इन्डेक्स ०.७४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६७ प्रतिशतले वृद्धि भएको छ।

समूहगत सूचकतर्फ व्यापारिक समूहबाहेक सबै सूचक उकालो लागेका छन्। तीमध्ये विकास बैंक समूह सबैभन्दा बढी १.५६ प्रतिशतले बढेको छ। व्यापारिक समूहको सूचक भने सामान्य ०.०१ प्रतिशतले घटेको छ।

शेयर मूल्य वृद्धिका आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै २,५५९ रुपैयाँ ७० पैसामा पुगेको छ। यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९९ प्रतिशत र एसवाई प्यानल नेपाल लिमिटेडको ९.९८ प्रतिशतले बढेको छ। घट्ने कम्पनीतर्फ स्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड अग्रस्थानमा रह्यो। उक्त कम्पनीको शेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्