images
images

नारायणगढ–बुटवल सडक विस्तार कार्य तिव्रगतिमा, ७६ प्रतिशत भौतिक प्रगति

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यसहित हाल कामलाई तीव्र बनाइएको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए। उनका अनुसार चौथो पटक थपिएको म्याद २०८३ असारभित्र काम पूरा गर्ने योजनाअनुसार निर्माण कार्य अघि बढिरहेको छ।

पूर्वी खण्डमा हाल अधिकांश क्षेत्रमा द्रुतगतिमा काम भइरहेको छ। गैँडाकोटस्थित जय श्री पुल, चोरमारा बजार क्षेत्र तथा अरुणखोला पुलमा काम अन्तिम चरणमा पुगेको छ भने दुम्किबास क्षेत्रमा कालोपत्रको काम बाँकी छ। अन्य अधिकांश क्षेत्रमा कालोपत्र कार्य सम्पन्न भइसकेको र बजार भागमा सर्भिस लेन कालोपत्र पनि भइरहेको अधिकारी खनालले बताए।

सडकबीचको डिभाइडर सफाइ, केही भागमा अतिरिक्त कालोपत्र तथा संरचनागत सुधारसमेत एकसाथ भइरहेको छ। दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको र चैतभित्र सडक ढलान तथा बाँकी काम पूरा गर्ने तयारी रहेको जनाइएको छ। ‘दाउन्नेमा कामलाई प्राथमिकतासहित अघि बढाएका छौँ, चैतसम्ममा बाँकी चौध प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,’ सूचना अधिकारी खनालले भने।

विसं २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने गरी चीनास्थित चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। तर निर्धारित समयमा काम नसकिएपछि म्याद क्रमशः २०८१ साउन ८, पछि २०८२ साउन ८ सम्म थप गरिएको थियो। अहिले चौथो पटक म्याद थपेर निर्माण कार्य जारी छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा भइरहेको यो आयोजनाको लागत दुवै खण्ड मिलाएर करिब रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ। कुल ११३ किलोमिटर लम्बाइको सडकमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ-छ मिटर सर्भिस लेन रहनेछ। दाउन्ने क्षेत्रमा भने करिब १४ किलोमिटर सडक तीन लेनको रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्