काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित उम्मेदवारीबारे विभिन्न तहका नेताहरूबाट सार्वजनिक रूपमा दिइएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
उम्मेदवार छनोट समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा केही नेता तथा सदस्यहरूले आफू उम्मेदवार हुने वा उम्मेदवार बन्ने आकांक्षा सार्वजनिकरूपमा व्यक्त गरेको विषयप्रति गम्भीर रूपमा ध्यान गएको उल्लेख छ। समितिले यस्तो अभिव्यक्ति पार्टीको औपचारिक प्रक्रियाविपरीत हुने स्पष्ट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा सदस्यका उम्मेदवार चयन पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुनेछ। सोही प्रक्रिया अनुरूप हाल रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। त्यसबाहेक अन्य कुनै पनि निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लागेको छैन।”
पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि क्षेत्रमा उम्मेदवारसम्बन्धी भ्रम, अपुष्ट जानकारी वा अफवाह फैलाउने गतिविधि नगर्न र नगराउन नेता, सदस्य, पार्टी संरचना तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।
समितिले सबैलाई अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै उम्मेदवार छनोट प्रक्रियामा पूर्ण विश्वास राखी अघि बढ्न अपिल गरेको छ।










प्रतिक्रिया दिनुहोस्