नेपालले बंगलादेशलाई थप २० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरेको छ। नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ढाकामा सम्पन्न सातौँ बैठकले हाल निर्यात भैरहेको ४० मेगावाटमा २० मेगावाट थप्ने सहमति गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवका अनुसार बंगलादेशले आवश्यक प्राविधिक तयारी पूरा गरेपछि नेपालबाट थप विद्युत् आयात गर्न सहमत भएको छ। बैठकमा नेपालतर्फ ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशतर्फ विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताज सहअध्यक्ष रहेका थिए।
यसअघि सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसहरू निर्देशक समितिको बैठकमा विस्तृत छलफल गरी अनुमोदन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ। कार्यदलको सहअध्यक्षतामा नेपालतर्फ सहसचिव देव र बंगलादेशतर्फ अतिरिक्त सचिव केएम अलि रेजा थिए।
बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता अभिवृद्धि तथा ऊर्जा परीक्षणलगायत क्षेत्रमा प्राविधिक सहकार्यलाई अघि बढाउने सहमति पनि गरेको छ। सम्झौताअनुसार बंगलादेशले नेपाललाई विद्युतीय सवारी चार्जिङ स्टेशन, रूफटप सोलार तथा ऊर्जा परीक्षणका क्षेत्रमा प्राविधिक सहायता उपलब्ध गराउनेछ। दुई देशबीच क्षमता अभिवृद्धि कार्यक्रम पनि अगाडि बढाइनेछ।
नेपालले २०८१ असोज १७ गतेदेखि भारतीय ग्रिडमार्फत बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। यसका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौता भएको थियो। निर्यात हुने बिजुली ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै बेहरामपुर–भेरामारा प्रसारण लाइनमार्फत बंगलादेश पुर्याइँदै आएको छ।
प्रति युनिट ६.४ सेन्ट दरमा नेपालले बंगलादेशलाई विद्युत् बिक्री गर्दै आएको प्राधिकरणले जनाएको छ। मुजफ्फरपुर सबस्टेसनमा विद्युत्को हिसाब राखिने व्यवस्था मिलाइएको छ।
२०७८ जेठदेखि नेपाल–बंगलादेशबीच जलस्रोत तथा ऊर्जा सहकार्यका विभिन्न संरचनागत प्रयासहरू थालिएकोमा पछिल्ला वर्षहरूमा यो सहकार्य थप बलियो बन्दै गएको छ। वर्षायाममा (जुन १५ देखि नोभेम्बर १५) पाँच महिनाका लागि नेपालले बंगलादेशलाई विद्युत् आपूर्ति गर्ने व्यवस्था अघि नै कार्यान्वयनमा आएपछि दुई देशबीच ऊर्जा व्यापार निरन्तर रूपमा विस्तार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्