काठमाडौं । कप्तान सन्दीप लामिछानेको घातक बलिङ प्रदर्शनले विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्यो । जनकपुरको यो लगातार दोस्रो हार हो ।
पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभर पुरा गर्दै ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । त्यसपछि १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर २० ओभरमै ९ विकेट गुमाउँदै १२६ रनमा रोकियो ।
विराटनगरको जितका मुख्य नायक कप्तान सन्दीप लामिछाने रहे, जसले एकै ओभरमा दुई विकेटसहित चार विकेट हात पारे । बसिर अहमदले ३६ तथा शुभम रन्जानेले ३७ रनको योगदान दिए । ओपनर लोकेश बमले २८ रन बनाए भने मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भए ।
जनकपुरका बलरहरू मध्ये सङ्गीथ कुरे र रूपेश सिंहले समान दुई–दुई विकेट लिए भने आदित्य महतोले एक विकेट हात पारे । टस जितेका जनकपुरका कप्तानले पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।














प्रतिक्रिया दिनुहोस्