काठमाडौँ – अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) ले भदौ २३ गते नेपालमा भएको जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीहरूले अत्यधिक र अनावश्यक बल प्रयोग गरेको निष्कर्ष सार्वजनिक गरेको छ। एजन्सीले जारी गरेको प्रतिवेदनमा प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध रूपमा गोली प्रहार गरेको र गम्भीर तथा तत्काल खतरा नभएका व्यक्तिमाथि समेत लक्षित गर्दै गोली चलाएको उल्लेख छ। प्रतिवेदनका अनुसार चेतावनी नदिई, बल प्रयोगका आवश्यक प्रक्रिया नअपनाई सुरक्षाकर्मीले आगो खोलेका कारण ठूलो मानवीय क्षति भएको बताइएको छ।
भदौ २३ गते सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध जेन–जीले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी गोली लागेर १९ जनाको मृत्यु भएको थियो। यसैबीच, एचआरडब्ल्यूले भदौ २४ गते सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन नसक्दा आगजनी र तोडफोडका घटनाले व्यापक जनधनको क्षति भएको निष्कर्षसमेत निकालेको छ। प्रतिवेदनले ती घटनाले नेपालमा राजनीतिक तथा कानूनी क्षेत्रका संरचनामा सुधारको आवश्यकता झनै स्पष्ट भएको उल्लेख गरेको छ।
एचआरडब्ल्यूले भदौ २३ र २४ का घटनामा सुरक्षाकर्मीको भूमिका, बल प्रयोग, आगजनी तथा सामूहिक आक्रमणका विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्