images
images

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, मन्त्रिपरिषद् आज निर्णायक बैठकमा

मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। सामान्यतया सोमबार र बिहीबार बस्ने बैठक यो साता समय तालिका परिवर्तन भई मंगलबार र शुक्रबार निर्धारण गरिएको हो। बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक भएकाले मन्त्रिपरिषद्को बैठक आजका लागि सारिएको हो।

यस पटकको बैठकमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन सम्बन्धी निर्णय गर्ने तयारी छ। यसअघि बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन संविधानको धारा २६६(१) अनुसार सेना परिचालन गर्न मन्त्रिपरिषद्को सिफारिस गर्ने निर्णय गरेको थियो।

आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएकोले सरकार शान्ति–सुरक्षालाई प्राथमिकता दिँदै समयमै सेना खटाउने तयारीमा छ। निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनका लागि गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा आवश्यक पत्राचार पनि गरिसकेको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि शान्ति–सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन। यही कारण राजनीतिक दलहरूले पनि निर्वाचनका लागि सुरक्षा वातावरण कमजोर भएको भन्दै सरकारको आलोचना गरिरहेका छन्।

असामान्य सुरक्षा अवस्थाका कारण यसपटक सरकारले नेपाली सेनालाई विगतका निर्वाचनहरूभन्दा चाँडै फिल्डमा उतार्ने तयारी गरेको हो। अघिल्ला चुनावहरूमा प्रायः एक महिना अघि मात्र सेना परिचालन गरिँदै आएको थियो, तर यसपटक परिस्थिति फरक भएकाले अग्रिम रूपमा सेना खटाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्