गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका विभिन्न गन्तव्य भ्रमण गरेका छन्, जुन गत वर्षको सोही महिनाको तुलनामा करिब आठ प्रतिशतले वृद्धि भएको हो। विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटक तथा २०८० सालको कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा आएका थिए। असोज–कात्तिकलाई नेपालमा मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटक आगमनमा उल्लेख्य वृद्धि देखिएको एक्यापका प्रमुख डा. रविन कडरियाले जानकारी दिए।
एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पदयात्रीको मात्र तथ्यांक राख्ने गर्दछ। तर, सडकमार्ग हुँदै प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या समेत कात्तिकमा चाडपर्व र बिदाका कारण उच्च रहने गरेको प्रमुख कडरियाले बताए।
यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी–पुनहिललगायतका लोकप्रिय पदमार्ग तथा गन्तव्यमा आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल विशेष रूपमा बढेको देखिन्छ। मुक्तिनाथलगायतका धार्मिक स्थल भ्रमण गर्ने धेरैजसो भारतीय पर्यटक सडकमार्ग रोज्ने गरे पनि अन्य मुलुकका पर्यटक पदयात्रालाई प्राथमिकता दिने गरेको पाइएको छ।
करीब ७ हजार ६०० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा फैलिएको छ। आकर्षक हिमशृङ्खला, पदयात्रा–मैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीय बासिन्दाको आतिथ्यता तथा स्तरीय सेवासुविधाका कारण अन्नपूर्ण चक्रीय पदमार्ग विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।











प्रतिक्रिया दिनुहोस्