जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु लगाएको छ। प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ।
वीरगञ्ज–पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दायाँ–बायाँ ५ सय मिटर र सिमरा विमानस्थल वरपर ५ सय मिटर क्षेत्रमा आवतजावत, भेला, जुलुस र सभा पूर्ण रूपमा निषेधित गरिएको छ।
जेनजी युवाहरूले आफूहरूलाई कुटपिट गर्ने एमाले–सम्बद्ध युवासंघका कार्यकर्तामाथि कारबाहीको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्। बिहीबार भएको झडपमा विमानस्थलको गेटमा तोडफोड तथा ढुंगा प्रहार भएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो।
यही घटनाका आधारमा दुई जना—धनबहादुर श्रेष्ठ र कैमुद्धिन अन्सारी—लाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यविरुद्धको किटानी जाहेरीमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्