काठमाडौँ – विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि माहोल अनुकूल नबनेको भन्दै सरकारलाई आवश्यक तयारी तुरुन्तै पूरा गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले सुरक्षित, विश्वासिलो र व्यवस्थित वातावरण बिना चुनाव सम्भव नहुने धारणा राखे। बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस चुनावमा जान पूर्ण रूपमा तयार भए पनि सरकारको क्रियाकलापले विश्वास दिलाउन नसकेको टिप्पणी गरे। उनले आधारभूत तयारी अझै कमजोर रहेको र विश्वसनीय वातावरण निर्माण नहुँदा आमनिर्वाचन चुनौतीमा परेको बताए।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुरक्षा व्यवस्थामा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनका क्रममा लुटिएका हतियार अझै बरामद नभएको र फरार कैदीसमेत पक्राउ नपरेकाले शान्ति–सुरक्षा जोखिममा रहेको बताए। यस्तो अवस्थामा चुनाव व्यवस्थित रूपमा सम्पन्न हुन कठिनाइ हुने उनको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा चुनावमुखी गतिविधिमा पूर्ण रूपमा सक्रिय रहेको उल्लेख गर्दै आवश्यक पूर्वाधार तथा तयारीलाई सरकारसँग छिटो निष्कर्षमा पुर्याउन माग गरे।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते तय गरिएको निर्वाचन देशलाई संवैधानिक अनिश्चितताबाट बचाउने सबैभन्दा महत्वपूर्ण वैधानिक प्रक्रिया भएको बताउँदै सबै दललाई समयमै जिम्मेवारीपूर्वक सहभागिताको आग्रह गरिन्। उनले चुनाव सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र नागरिकप्रतिको अटुट प्रतिबद्धता भएको स्पष्ट पारिन्।
युवाको आक्रोशलाई सकारात्मक ऊर्जा र मतपत्रमार्फत संस्थागत परिवर्तनमा रूपान्तरण गर्न चाहेको भन्दै प्रधानमन्त्री कार्कीले सडक आन्दोलनलाई नीतिगत निर्णयको प्रक्रियामा डोर्याउन सरकार इच्छुक रहेको बताइन्। साथै, आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष र छिटो अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने पनि उनले स्पष्ट गरिन्।










प्रतिक्रिया दिनुहोस्