images
images

ओलीको घोषणा: ‘विघटन असंवैधानिक, कानुन र सडक दुवैबाट लड्छौँ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई दिशाबाट संघर्ष सञ्चालन गर्ने घोषणा गरेका छन्। मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाइँ र सडक संघर्ष दुवै मोर्चाबाट अघि बढ्ने बताए। उनका अनुसार एमालेले गर्ने आन्दोलन आगजनी वा तोडफोडमा सीमित नहुने, बरु संवैधानिक, शान्तिपूर्ण र जनताको सुरक्षालाई प्राथमिकता दिएर सञ्चालन हुने छ।

अध्यक्ष ओलीले वर्तमान सरकारले असंवैधानिक ढंगले काम गरिरहेको आरोप लगाउँदै तत्कालै त्यस्तो सरकार हट्नुपर्ने दाबी गरे। उनले भदौ २३ र २४ मा भएको आन्दोलनलाई देशलाई अन्धकारतर्फ धकेल्ने प्रयासको सुरुआतका रूपमा व्याख्या गरे। ‘देशलाई अन्धकारतर्फ लैजाने प्रारम्भ विन्दु बनाइएको छ, जुन हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘यस्ता संवैधानिक विपरीत कदमप्रति पनि राजनीतिक दलले मुख नखोलेर बस्न मिल्दैन।’

पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टी स्पष्ट निर्णयमा पुगेको उल्लेख गर्दै अहिलेको कदमको संवैधानिक परीक्षण अनिवार्य रहेको बताए। उनका अनुसार पुनर्स्थापनाबाहेक अर्को वैधानिक विकल्प संविधानमा छैन। उनले संविधानका प्रावधान अध्ययन गर्दा पनि हालको विघटन पूर्ण रूपमा असंवैधानिक रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्