नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलप्रति देखिएको उत्साह यति उच्च रहेको छ कि सबै टिकट बिक्री भएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले समर्थकहरूलाई ‘स्टेडियम नआइकन घरमै बसेर खेल हेर्न’ अनुरोध गरेको छ।
क्यानका महासचिव पारश खड्काले सार्वजनिक भिडियो सन्देशमार्फत टिकट नपाएर निराश भएकालाई घरमै बसेर खेल हेर्न आग्रह गर्दै, पहिलो दिन अत्यधिक भीड हुने भएकाले व्यवस्थित रूपमा समर्थन जनाउन आग्रह गरेका हुन्।
खल्तीमार्फत बिक्रीमा राखिएको एनपीएलको टिकट अत्यन्त छोटो समयमा सकिएको क्यानले जनाएको छ। यस वर्ष क्यानले ८ हजार टिकट मात्रै बिक्रीका लागि उपलब्ध गराएको छ, जसमा करिब २ हजार टिकट खेलाडी परिवार, आयोजक र प्रायोजकका लागि छुट्याइएको छ।
उद्घाटन खेलका लागि साधारण र प्रिमियम दुवै टिकट बिक्री भइसकेका छन्। साधारण टिकटको मूल्य उद्घाटन र अन्य सामान्य खेलका लागि रु. ५०० तोकिएको छ भने प्लेअफ तथा फाइनलमा रु. १००० पर्छ। प्रिमियम टिकट उद्घाटन खेल र शनिबारका लागि रु. १५००, अन्य दिन रु. १०००, र प्लेअफ तथा फाइनलमा रु. २००० निर्धारण गरिएको छ।
उच्च चासोका बीच सुरु हुन लागेको एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि प्रारम्भ हुँदैछ। उद्घाटन खेल सोमबार अपराह्न ४ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुने तय भएको छ।










प्रतिक्रिया दिनुहोस्