काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले तय गरेको कार्यतालिका अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम औपचारिक रूपमा सञ्चालन हुने भएको छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी–विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया सञ्चालन गरिनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिक व्यवस्थापन र प्रशासकीय सहजताका लागि कार्यतालिका तयार गरिएको हो। उनले आवश्यकता अनुसार कार्यतालिकामा आवश्यक संशोधन गर्न सकिने पनि बताए।
कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साताभित्र निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गर्नेछ। दल दर्ताका लागि एक साताको समयसीमा तोकिँदै आएको छ। प्राप्त निवेदनहरूको छानबिनपछि आयोगले मङ्सिर दोस्रो सातामा दल दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गर्ने योजना बनाएको छ। त्यसपछि मङ्सिर दोस्रो साताभित्र निर्वाचन कार्यक्रम प्रकाशन गरिनेछ।
यसअघि आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण तथा अनुमान लगायतका तयारी कात्तिक महिनाभित्रै पूरा गर्ने जनाएको छ। मतदाता नामावली भने पुस पहिलो सातासम्म सार्वजनिक गरिनेछ। नियम अनुसार, राष्ट्रिय सभाका सदस्यका लागि मतदान सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिका प्रमुख–उपप्रमुखहरूले मिलेर बनेको निर्वाचकमण्डलमार्फत हुने व्यवस्था छ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि समाप्त हुँदैछ। तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सदस्यको कार्यकाल सकिँदैछ। यसअन्तर्गत कोशीबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई र लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुनेछन्। एक सदस्य राष्ट्रपतिबाट मनोनीत गरिनेछ।
पदावधि समाप्त हुनुभन्दा करिब ४० दिनअघि निर्वाचन सम्पन्न हुने तयारी आयोगले गरेको छ। कार्यतालिका अनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण गरिनेछ भने पुस दोस्रो साताभित्र निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुनेछ। त्यसपछि पुस अन्तिम साता मतपत्र छपाइ लगायतका काम समानान्तर रूपमा सञ्चालन हुनेछन्। माघ पहिलो सातामा प्रचारप्रसार अवधि रहनेछ भने मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुनेछ।
नेपाल सरकार मन्त्रीपरिषद्को गत कात्तिक १२ गतेको बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तय गरेको थियो। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पदावधि समाप्त भई रिक्त हुन लागेको पदको निर्वाचन मिति सो पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि तोक्नुपर्ने प्रावधान छ। सरकारको उक्त निर्णयसँगै निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी तीव्र बनाएको छ।














प्रतिक्रिया दिनुहोस्