काठमाडौं – राजधानीका विभिन्न १९ सार्वजनिक स्थलमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा यो सेवा विस्तार गरिएको हो। अस्पताल, मन्दिर, विमानस्थल र सार्वजनिक सेवासँग सम्बन्धित स्थलहरूमा नागरिकले अब सहज रूपमा इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन्।
मन्त्रालयका अनुसार यसअघि सञ्चालनमा रहेका वाइफाइ स्थानहरूको मर्मत तथा गुणस्तर सुधारका साथै आठ नयाँ स्थानमा सेवा थपिएको छ। नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान र क्षमता विस्तार गरिएको छ। यातायात व्यवस्था कार्यालयहरू— ठूलोभर्याङ, एकान्तकुना (ललितपुर) र राधेराधे (भक्तपुर) मा पनि वाइफाइ स्थापना वा विस्तारको काम भइरहेको छ।
सेवा निरन्तरता सुनिश्चित गर्न नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीबीच सहकार्य भएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा सेवा प्रदायक कम्पनीहरूले यो परियोजना सञ्चालन गरेका हुन्। वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदय केन्द्र, सिभिल अस्पताल, ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा उपचार केन्द्र र पशुपति मन्दिर क्षेत्रका वाइफाइ सेवाको क्षमता पनि बढाइएको छ।
ती क्षेत्रमा अब १५० एमबिपिएस ब्याण्डविथ र प्रत्येक प्रयोगकर्ताका लागि ५०० एमबी डाटासम्म प्रयोग गर्न सकिनेछ। नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने योजना पनि अघि सारेको छ। भक्तपुर क्यान्सर अस्पतालमा ६ र कीर्तिपुर अस्पतालमा ५ वटा एक्सेस प्वाइन्टमार्फत सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री खरेलले गत असोज ६ गते पदभार ग्रहण गर्दा पहिलो निर्णयका रूपमा दुई महिनाभित्र उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने घोषणा गरेका थिए। अब उपत्यकाबाहिरका १० प्रमुख सहरमा पनि चरणबद्ध रूपमा यो सेवा पुर्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मन्त्री खरेलको नेतृत्वमा टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क वाइफाइ सेवाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।














प्रतिक्रिया दिनुहोस्