काठमाडौं – भारतले पहिलो पटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ। नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। दीप्ती शर्मा र शफाली वर्माको सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शनले भारतलाई जितको आधार बनायो। यो विजयसँगै भारतले महिला क्रिकेटमा एकदिवसीय र ट्वान्टी–२० दुबै फम्र्याटमा पहिलोपटक विश्वकपको ट्रफी जित्न सफल भएको छ।
यसअघि भारत सन् २०१७ को एकदिवसीय र २०२० को ट्वान्टी–२० विश्वकपको फाइनलमा तथा २०१८ र २०२३ को ट्वान्टी–२० विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। लामो प्रतीक्षापछि भारतीय महिला टोलीले विश्वकप जित्दै ऐतिहासिक क्षण रचेको हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै २९८ रनको सम्मानजनक योगफल तयार पारेको थियो।
शफाली वर्मा र दीप्ती शर्माले अर्धशतकीय पारी खेल्दै ब्याटिङमा चमके। शफालीले स्मृति मन्धनासँग पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेकी थिइन् भने विकेटकिपर ऋचा घोशले पनि ३४ रनको योगदान दिइन्।
जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाले कप्तान लौरा वोल्वार्ड्टको शानदार १०१ रनको पारीका बाबजुद २४६ रनमै अलआउट हुँदै हार व्यहोर्नुपर्यो।
दीप्ती शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पाँच विकेट लिई खेलको निर्णायक नायिका बनिन्। ४२औं ओभरको पहिलो बलमै उनले वोल्वार्ड्टलाई आउट गर्दै भारतलाई ऐतिहासिक जित दिलाइन्।











प्रतिक्रिया दिनुहोस्