काठमाडौँ — कार्तिक २१ गते रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी : २ – सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बाधकको रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले पहिलो भागको कथा निरन्तरता दिँदै, दया र मिरुना मगरबीच छोरीको जन्मपछि उत्पन्न सम्बन्धगत फाटोलाई मुख्य विषय बनाएको देखिन्छ।
ट्रेलरमा विजय बरालको वैवाहिक जीवनसँग जोडिएको कथाले पनि फिल्ममा रोचकता थपेको छ। उनको पात्रले कथामा डार्क ह्युमर प्रस्तुत गर्दै दर्शकमा कौतुहलता पैदा गरेको देखिन्छ।
उपेन्द्र सुब्बा लिखित र निर्देशित ‘जारी : २’ लाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। तिनीसँगै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, माओत्से गुरुङ, मानहाङ लावती, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रलाई यस वर्षको सबैभन्दा प्रतिक्षित र व्यापारिक सम्भावना बोकेको नेपाली फिल्म मानिएको छ। ‘जारी’ (२०८०) नेपाली बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै ब्लकबस्टर बनेको थियो। त्यसैले यसको सिक्वेल ‘जारी : २’ ले पनि सोही सफलता दोहोर्याउने बलियो अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्