काठमाडौँ — नेपाल र भारतबीचको महिला अन्तर्राष्ट्रिय फुटबल मैत्रीपूर्ण खेल आज हुँदैछ। यसअघि बिहीबारका लागि तय गरिएको खेलको मिति परिवर्तन गर्दै आज (बुधबार) खेल आयोजना गर्न लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। एन्फाका अनुसार आजको खेल अनौपचारिक स्वरूपमा हुनेछ।
यी दुई टोलीबीच गत सोमबार भारतको सिलोङमा भएको पहिलो भिडन्तमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो। त्यस खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले दुई गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी थिइन्।
तर आज हुने दोस्रो खेलमा साम्बासहित दुई प्रमुख खेलाडी अनुपस्थित रहनेछन्। साम्बा व्यावसायिक फुटबल खेल्न अस्ट्रेलिया फर्किएकी छन् भने गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई क्रमशः ग्रिस र जोर्डनस्थित क्लबमा खेल्न प्रस्थान गरेका छन्।
नेपालले भारतविरुद्ध पहिलो खेलमा जित निकालेपछि दोस्रो खेलमा नयाँ खेलाडीलाई अवसर दिने सम्भावना एन्फाले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्