प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा भयरहित वातावरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन्। मंगलबार विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगको छलफलका क्रममा उनले निर्वाचनबारे आशंका नगर्न आग्रह गरिन्।
“सरकार तोकिएकै समयमा, भयरहित वातावरणमा चुनाव गराउन कटिबद्ध छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “यसका लागि मन्त्रीहरू, सुरक्षा निकाय र सम्बद्ध पक्षहरू निरन्तर खटिएका छन्।”
दलहरूसँग संवादमा ढिलाइ भएको टिप्पणीबारे स्पष्ट पार्दै उनले हालका प्राथमिकताहरूले केही समय लागेको बताइन्। उनले भनिन्, “घाइतेहरूको उपचार, सहिद परिवारको राहत, र आन्दोलनकारी पक्षको आवाज सुन्नुपर्ने जिम्मेवारी प्राथमिक रूपमा आएको थियो। सुरुमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न चाहेका पनि थिएनन्। अहिले राष्ट्रपतिज्यूबाट संवादको ढोका खुलेको छ।”
प्रधानमन्त्री कार्कीले जेनजी र राजनीतिक दलबीच छलफलका नयाँ चरण सुरु गर्नुपर्ने प्रस्ताव पनि राखिन्। मंगलबार अपरान्ह उनले घाइते जेनजीहरूसँग पनि भेटवार्ता गरेकी थिइन्। उनले राजनीतिक स्थिरता र निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाउन आग्रह गर्दै भनिन्, “जसरी हुन्छ, स्थिति सामान्य बनाउँदै चुनावतिर जाऔँ। सफल निर्वाचनका लागि सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।”
अपरान्ह ४ बजेदेखि सुरु भएको बैठक साँझ पौने ९ बजे सकिएको थियो। अधिकांश दलका प्रतिनिधिहरूले शान्तिपूर्ण निर्वाचनबारे आशंका व्यक्त गरे पनि, निर्वाचनमा जाने सहमति देखिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। “एमालेले सरकार चुनाव गराउन सक्षम नहोला भन्ने आशंका व्यक्त गरे पनि, चुनावको विरोध गरेको छैन,” उनले बताए।
छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति, नेमकिपा, जनमत, र एकीकृत समाजवादी दलका शीर्ष नेताहरू सहभागी थिए।
सरकारतर्फबाट प्रधानमन्त्री कार्कीसँग अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित थिए।










प्रतिक्रिया दिनुहोस्