प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा सातवटै राष्ट्रिय दलका नेतासँग आज संयुक्त छलफल गर्न लागेकी छन्। उनको सचिवालयका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका सातै दलका दुई–दुई जना प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरिएको छ। बैठक आज (मंगलबार) दिउँसो ४ बजेका लागि तय गरिएको हो।
यसअघि प्रधानमन्त्री कार्कीले दलका नेतासँग अलग–अलग भेटघाट गर्दै चुनाव तयारीबारे परामर्श गर्दै आएकी थिइन्। तर, पहिलोपटक उनले सबै दलका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याएर संयुक्त छलफल आयोजना गर्न लागेकी हुन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली सरकार हटेर कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो। अन्तरिम सरकारलाई आगामी फागुन २१ गते निर्वाचन गराउने म्यान्डेट प्राप्त भएको छ।
हाल दलहरूले निर्वाचन तयारीमा पर्याप्त समन्वय नभएको भन्दै सरकारप्रति आलोचना गरिरहेका बेला प्रधानमन्त्री कार्कीले संयुक्त बैठक बोलाएकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका लागि सबै दललाई पत्र पठाईसकिएको र टेलिफोनमार्फत समेत जानकारी गराइएको छ। सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेताहरूसँग सम्पर्क गरेर बैठकको जानकारी प्रधानमन्त्रीलाई दिएका छन्।










प्रतिक्रिया दिनुहोस्