images
images

६ महिनापछि भैरहवाबाट थाई एयर एसियाको अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुने

काठमाडौं । करिब ६ महिनापछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। थाइल्यान्डको थाई एयर एसियाले कात्तिक ९ गते (अक्टोबर २६) देखि बैंकक–भैरहवा–बैंकक रुटमा नियमित उडान सञ्चालन गर्न अनुमति पाएको हो।  विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार थाई एयर एसियाले हप्तामा दुई दिन — आइतबार र बुधबार — उडान सञ्चालन गर्नेछ। उनका अनुसार समर सेड्युल (अप्रिलदेखि अक्टोबर अन्त्यसम्म)मा कुनै कम्पनीले उडानका लागि तालिका नबुझाए पनि विन्टर सेड्युलका लागि भने एयरलाइन्सहरूको चासो बढेको छ।

हाल थाई एयर एसियासहित दुई कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमा रुचि देखाएका छन्। तिवारीका अनुसार कुवेतको जजिरा एयरवेजसँग पनि पुनः उडान सुरु गर्नेबारे छलफल भइरहेको छ। जजिरा एयरवेजले सन् २०२२ (२०७९ जेठ) मा बुद्धजयन्तीको अवसर पारेर विमानस्थल उद्घाटनकै दिन पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो। त्यसपछि जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले सो विमानस्थलबाट उडान सञ्चालन गरे पनि पछिल्ला ६ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको हो।

थाई एयर एसियाले सन् २०२४ (२०८१ साउन) मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध विमानस्थल दुवै स्थानबाट उडान गर्न अनुमति पाएको थियो। कम्पनीले हप्ताका सातै दिनका लागि अनुमति मागे पनि नागरिक उड्डयन प्राधिकरणले चार उडानमात्र स्वीकृत गरेको थियो। गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा केही समयका लागि बन्द हुँदा जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भैरहवाबाट वैकल्पिक उडान सञ्चालन गरेका थिए।

बुद्धजयन्तीको अवसरमा उद्घाटन भएको करिब साढे दुई वर्ष बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडान स्थायित्व कायम गर्न सकेको छैन। तर जाडोयामका लागि केही एयरलाइन्सले उडान तालिका स्वीकृत गराइसकेका छन् भने अन्य कम्पनीहरूले पनि तयारी थालिसकेको विमानस्थलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्