काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले इरान र भारतविरुद्ध हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। कप्तान सावित्रा भण्डारी ‘साम्बा’को नेतृत्वमा घोषणा गरिएको टोलीमा केही नयाँ अनुहारसँगै चोटपटकपछि फर्किएका खेलाडी पनि रहेका छन्।
हिरा कुमारी भुजेल र दीपा शाही घाइते भएपछि गत वर्षको साफ महिला च्याम्पियनसिप गुमाएका थिए। दुवै जना यसपटक पुनः टिममा फर्किएका छन्। त्यसैगरी सजनी थोकरले पनि पुनरागमन गरेकी छन्। पूर्णिमा राई र मीना देउवाले भने पहिलोपटक सिनियर टिममा स्थान बनाएका छन्। उनीहरू यसअघि यू–२० टोलीमा खेलिरहेका थिए।
गत एएफसी एसियन कप छनोटमा सहभागी विमला चौधरी, अनिता केसी र चन्द्रा भण्डारी भने यो पटक बाहिर परेका छन्। चोटमुक्त भएकी गीता रानालाई पनि टोलीमा समावेश गरिएको छैन। नवनियुक्त प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा नेपालले पहिलोपटक खेल्नेछ। नेपालले भारतमा कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
कप्तान सावित्रा भण्डारीसँगै अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बु र उषा नाथ अन्तिम टोलीमा समावेश छन्।














प्रतिक्रिया दिनुहोस्