काठमाडौं – प्यालेस्टाइनको लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायल सरकारलाई बुझाएको छ। बिबिसीले हमासलाई उद्धृत गर्दै जनाएको अनुसार, अन्तर्राष्ट्रिय रेडक्रसको मध्यस्थतामा इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये नेपालका विपिन जोशी पनि रहेका छन्। बाँकी शवहरूमा गाइ इलौज, यासी सारबी र डानिल पिरेज रहेका बिबिसीले उल्लेख गरेको छ।
हमासले यसअघि २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको थियो। समूहले बाँकी रहेका २८ जनाको शव क्रमशः हस्तान्तरण गर्ने जानकारी दिएको छ। बैतडीका २३ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रस्थित किबुज एलुमिममा हमासको आक्रमणपछि बेपत्ता भएका थिए। उनले आक्रमण हुनुभन्दा करिब एक महिना अघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए।
सो आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। विपिन आफ्ना घाइते साथीहरूलाई जोगाउने प्रयासमा रहेका बेला हमास लडाकुहरूले उनलाई बन्धक बनाएको भिडियो फुटेज सार्वजनिक भएको थियो। विपिन बैतडीको पुर्चौडी नगरपालिका–१० (पूर्व विजयपुर गाविस) का स्थायी बासिन्दा हुन्। उनी बुबा महानन्द जोशी र आमा पद्मा जोशीका एकमात्र छोरा थिए।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसअघि इजरायली सुरक्षातर्फबाट विपिन जीवित रहेको कुनै प्रमाण नपाइएको जानकारी दिएका थिए। हाल इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अस्थायी रूपमा रोकिएको छ। युद्धविरामपछि हमासले बन्धक बनाइएका ४८ जनामध्ये २० जनालाई सोमबार मुक्त गरेको हो। यी सबैलाई अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायल फर्काइएको हो।
इजरायली सरकारले मुक्त गरिएका नागरिकहरूलाई आफ्नो भूमिमा स्वागत गर्दै स्वास्थ्य परीक्षण र आवश्यक उपचारको व्यवस्था गरेको छ। यसबीच, युद्धविराम प्रक्रियामा विशेष भूमिका निर्वाह गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल पुगेर मुक्त बन्धकका परिवारसँग भेटघाट गरेका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।












प्रतिक्रिया दिनुहोस्