images
images

नेपालको रोमाञ्चक जितः कतार ५ रनले पराजित

ओमानको अल एमिरेट क्रिकेट मैदानमा भएको सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारविरुद्ध ५ रनको रोमाञ्चक जित हात पारेको छ। यस जितसँगै नेपालले ६ अंक जोड्दै लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्ने सम्भावना अझ प्रबल बनाएको छ। नेपाल र ओमान दुवैको समान ६–६ अंक भए पनि नेट रनरेटका कारण नेपाल दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा रह्यो।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो। कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको प्रभावशाली पारी खेले। दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान गरे। अन्य खेलाडीबाट उल्लेखनीय प्रदर्शन हुन सकेन। बलिङतर्फ कतारका डानियल आर्कर मारिया लुइस र मिर्जा मोहम्मद बाइगले समान ३–३ विकेट लिएका थिए।

१४८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कतार १९.५ ओभरमै १४२ रनमा अलआउट भयो। कतारका इमाल लियानेजले ५६ र जुबेइर अलिले ५२ रनको अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका बलरमध्ये सन्दीप लामिछाने खेलका नायक बने — उनले ३.५ ओभरमा १८ रन खर्चिँदै ५ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए। नन्दन यादवले २ विकेट र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

नेपालले यस खेलमा कुल ७ बलर प्रयोग गरेको थियो। उत्कृष्ट बलिङ र कसिलो फिल्डिङका कारण अन्तिम क्षणमा नेपालले जित सुनिश्चित गर्‍यो। नेपालले सुपर सिक्स चरणमा अब ओमान र सामोआसँग खेल बाँकी छ। ओमानविरुद्धको खेल भोलि राति ८ः४५ बजे हुनेछ भने सामोआविरुद्ध शुक्रबार अपराह्न ४ः१५ बजे खेलिनेछ।

प्रतिक्रिया दिनुहोस्