काठमाडौं – नवनियुक्त तीन मन्त्रीलाई आज (सोमबार) बिहान ११:३० बजे शपथ खुवाइने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीत्रय ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकै दिन आइतबार बेलुकी अर्याललाई गृह मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएकी छिन्। पूर्वअर्थसचिव खनाललाई अर्थ मन्त्रालय र पूर्वप्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई भौतिक पूर्वाधार तथा निर्माण, ऊर्जा–जलस्रोत–सिँचाइ र सहकारी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यी नियुक्तिहरू प्रधानमन्त्री कार्कीले आइतबार राति राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम प्रधानमन्त्री बनेकी हुन्। ओली सरकार ढाल्ने मोडमा पुगेको जेनजी आन्दोलन फेसबुक, एक्स, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछिको प्रतिक्रियामा सुरु भएको थियो।
आन्दोलनका क्रममा प्रहरीले गरेको दमनमा काठमाडौंको बानेश्वरमा १७ र विराटनगरमा २ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। भदौ २४ गते उग्र बनेका प्रदर्शनकारीले नेताका घरदेखि सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतसम्म जलाइदिएका थिए। आन्दोलनकै क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि समेत घरभित्रै आक्रमण भएको थियो। त्यसपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।
अन्तरिम सरकारका अनुसार जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ भने अझै कैयौँ घाइतेको उपचार जारी छ।









प्रतिक्रिया दिनुहोस्