काठमाडौँ : मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकारले सिंहदरबारमै बसेर काम गर्ने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारको भौतिक पूर्वाधार निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजीको आन्दोलनपछि बन्ने सरकारले काम गर्न प्रशासन पूर्ण रूपमा तयार रहेको बताएका हुन्।
सिंहदरबारमा आगलागी भएपछि प्रधानमन्त्रीको कार्यालय नारायणहिटी सारिने चर्चा भएपनि अर्यालले त्यस्तो हल्ला निराधार भएको बताए। उनले भने, “सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाको तयारीबारे छलफल गरेका छौँ। क्षतिको मूल्याङ्कन गरेर जहाँ कम क्षति छ, त्यहीँबाट सेवा सुरु गर्नेछौँ। सरकार सञ्चालन सिंहदरबारमै हुन्छ।”
उनका अनुसार अभिलेख, पूर्वाधार र सवारीसाधनमा कति क्षति पुगेको छ भन्ने विषय प्राविधिक मूल्याङ्कनपछि मात्र प्रष्ट हुनेछ।
प्रतिक्रिया दिनुहोस्