नेपाली सेनाले जेन–जेड आन्दोलनरत समूहसँग वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले बिहान ८ बजेभित्र नाम उपलब्ध गराउन आग्रह गरेसँगै जेन–जेडका विभिन्न समूहभित्र छलफल सुरु भएको छ।
आन्दोलनकारीहरूले राजनीति मात्र नभई अर्थतन्त्रका जानकार व्यक्तिलाई पनि वार्तामा पठाउने विषयमा विचार गरिरहेका छन्। ‘हामी नेपाल’ समूहले केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेको थियो भने डडेल्धुराबाट चुनाव लडेका युवा सागर ढकालको नाम समेत प्रस्तावमा आएको छ। यस्तै, उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो तर श्रेष्ठले आफू पार्टीसँग आबद्ध भएकाले प्रतिनिधित्व गर्न असमर्थ भएको स्पष्ट पारिन्।
अन्य जेन–जेड समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा छलफल भइरहेको छ। काठमाडौं महानगर प्रमुख बालेन शाह प्रत्यक्ष जेन–जेड तर्फबाट वार्तामा सहभागी हुने वा अलग भूमिकामा प्रस्तुत हुने भन्नेबारे भने स्पष्ट भइसकेको छैन।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गरेका थिए। त्यसैगरी सेनापति अशोकराज सिग्देलले भिडियो सन्देश जारी गर्दै आन्दोलन रोक्न र वार्तामा बस्न आग्रह गरेका थिए।
नेपाली सेनाको सहजीकरणमा वार्ताको तयारी भइरहेका बेला, प्रतिनिधि चयन र वार्ताको ढाँचा अझै स्पष्ट नभएको देखिएको छ। यसबीच, बालेन शाहले संसद विघटनपछि सेना प्रमुखसँग वार्ता गरी जेन–जेड प्रतिनिधिसहितको नागरिक सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।









प्रतिक्रिया दिनुहोस्