images
images

भ्रष्टाचारविरोधी नारा सहित जेनजीको काठमाडौँ प्रदर्शन

काठमाडौँ — भ्रष्टाचार र अव्यवस्था अन्त्यका साथै सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजी पुस्ताले राजधानी काठमाडौँमा आन्दोलन थालेका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शनमा युवाहरूले ‘भ्रष्टाचार अन्त्य गर’, ‘सामाजिक सञ्जाल खुला गर’ जस्ता नारासहितका प्लेकार्ड बोकेर सहभागिता जनाएका छन्। धेरैजसो विद्यार्थी स्कुल तथा कलेजको पोसाकमै उपस्थित भएका छन्।

आन्दोलनमा सम्भावित घुसपैठ रोक्न स्थानीय प्रशासनले बिहानैदेखि कडाइका साथ सुरक्षा व्यवस्था मिलाएको छ। माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न अनुमति दिइएको छ भने संसद् भवन वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। जेनजीको आन्दोलनलाई विभिन्न संघसंस्था, कलाकार, व्यवसायी र नेताहरूले समर्थन जनाएका छन्।

काठमाडौं महानगर प्रमुख बालेन साह, व्यवसायी दुर्गा प्रसाईंसहितका सार्वजनिक व्यक्तित्वले ऐक्यबद्धता जनाएको छ। सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि जेनजी पुस्ता सडकमा उत्रिएको हो। भ्रष्टाचारविरुद्धको संघर्ष यस आन्दोलनको मूल विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्