images
images

भोलिको जेनजी प्रदर्शन : प्रधानमन्त्री ओलीले कानुन सम्झाए, मेयर बालेनले ऐक्यबद्धता जनाए

काठमाडौँ – सामाजिक सञ्जाल बन्दबारे उठिरहेको विवादबीच जेनजी पुस्ताले भोलि सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरूले सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत भ्रष्टाचार र सञ्जाल बन्दविरुद्ध अभियान चलाउँदै सडकमा उत्रन लागेका हुन्।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमालेको दोस्रो विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी भएको बताए। उनले जेनजी पुस्ताले देशलाई माया गर्ने र कानुन बुझ्ने स्पष्ट गर्दै सामाजिक सञ्जाल बन्दलाई वाक स्वतन्त्रता कुण्ठित गरिएको प्रचार भ्रम मात्र भएको दाबी गरे।

ओलीले सामाजिक सञ्जाल सञ्चालनका लागि सरकारले विगत एक वर्षदेखि दर्ता, कानुनी प्रक्रिया र कर तिर्न आग्रह गर्दै आएको तर अटेरीका कारण रोक लगाउनुपरेको स्पष्ट पारे। “हामी वाक स्वतन्त्रताका लागि बलिदान गरेर आएका हौं, त्यसैले एमाले असहिष्णु भयो भन्ने भ्रममा नपर्नुहोस्,” उनले भने।

यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भने सोमबार हुने प्रदर्शनलाई समर्थन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताए। उनले जेनजी पुस्तालाई २८ वर्षमुनिका युवा भएको उल्लेख गर्दै आफू उमेरका कारण प्रदर्शनमा प्रत्यक्ष उपस्थित हुन नमिल्ने भए पनि उनीहरूको उद्देश्य र सोच बुझ्न चाहेको बताए।

“भोलि हुने स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नखोजून। यो र्‍याली जेनजीहरूको हो, र मेरो भरपुर समर्थन छ,” बालेनले भने। उनले जेनजी पुस्तालाई प्रश्न गर्दै भने, “प्रिय जेनजी, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”

प्रतिक्रिया दिनुहोस्