images
images

आज राति खग्रास चन्द्रग्रहण, नेपालबाट पूर्णरूपमा देखिने

काठमाडौँ – आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७–८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १०:११ बजे ग्रहण सुरु भई ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन हुँदै बिहान १:४१ बजे मोक्ष हुनेछ। खग्रासको अवधि १ घण्टा २३ मिनेट र सम्पूर्ण ग्रहण ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एशियाका धेरै देशबाट यो ग्रहण सुरुदेखि अन्तसम्म देखिनेछ।

ज्योतिषशास्त्रअनुसार ग्रहणले राशिअनुसार फरक प्रभाव पार्ने विश्वास छ। मेषलाई लाभ, वृषलाई सुख, मिथुनलाई मानहानि, कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई आनन्द, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई व्यय हुने उल्लेख छ। यस आधारमा मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले चन्द्रग्रहण हेर्न नहुने भनिएको छ। विशेषगरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका तथा कुम्भ राशि भएका मानिसका लागि यो ग्रहण कष्टकर हुने विश्वास गरिन्छ।

धार्मिक परम्पराअनुसार ग्रहणभन्दा केही घण्टा अघि सुतक लाग्ने भएकाले आज दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा मन्त्रजप, हवन र दानलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने वा तेल लगाउने कार्य वर्जित मानिन्छ।

तर वैज्ञानिक दृष्टिकोणले चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई निःशङ्क खुला आँखाले अवलोकन गर्न सकिने स्पष्ट गरिएको छ। खगोल विज्ञानप्रेमी र विद्यार्थीका लागि यो अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर हुने खगोलविद्हरूको भनाइ छ। यसपछि फागुन १९ गते मंगलबार फागुन शुक्ल पूर्णिमाका दिन अर्को खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्