images
images

एमाले विधान महाधिवेशन : समूह छलफल सकियो, आजदेखि सुझाव प्रस्तुत

काठमाडौँ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको समूहगत छलफल सम्पन्न भई आजदेखि प्रतिनिधिहरूका सुझाव प्रस्तुत गर्ने औपचारिक सत्र सुरु भएको छ। हिजो सम्पन्न समूहगत छलफलमा दुई हजार एक सय २६ प्रतिनिधिलाई १० समूहमा विभाजन गरी अध्यक्ष केपी शर्मा ओलीको विधान संशोधन प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको प्रतिवेदन तथा महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि बहस गरिएको थियो।

समूह संयोजकहरूले प्रतिनिधिहरूका सुझाव आज बस्ने बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। महाधिवेशन स्थल गोदावरीमा आज दिनभर विभिन्न प्रतिवेदनमाथि छलफल, समीक्षा र निष्कर्ष टुंग्याउने तयारी गरिएको छ। यसअघि समूह छलफलमा धेरैलाई बोल्न नदिइएको भन्दै केही प्रतिनिधिहरू असन्तुष्ट देखिएका थिए।

त्यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णयमाथि असहमति जनाउँदै फरक मत पेश गर्ने तयारी गरेका स्थायी कमिटी सदस्य कर्ण थापालाई नेतृत्वले रोक लगाएको विषय पनि महाधिवेशनमा चर्चा बनेको छ। थापाले ३२ पृष्ठ लामो फरक मत पेश गरे पनि मञ्चमा वाचन गर्न नपाएको, तर प्रतिलिपि भने प्रतिनिधिहरूलाई वितरण गरिएको थियो।

गोदावरीमा भदौ ६ गतेदेखि सुरु भएको महाधिवेशनमा देशभरका दुई हजार २६ जना प्रतिनिधि सहभागी छन् भने आयोजकसहित जम्मा दुई हजार ३४१ जना उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस्