images
images

नेपाल प्रहरीमा नयाँ नेतृत्व : चन्द्रकुवेर खापुङ ३२औँ महानिरीक्षक बने

नेपाल प्रहरीको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। सरकारले भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकबाट उपमहानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई प्रहरी संगठनको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेपछि उनी आज (बिहीबार) औपचारिक रूपमा कार्यभार सम्हाल्दैछन्।

बिहान साढे ९ बजे गृह मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न लगाइदिए। त्यसपछि उनी प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्, जहाँ वरिष्ठ अधिकारी, प्रहरी जवान तथा कर्मचारीले स्वागत गर्ने तयारी भएको छ।

प्रहरी संगठनमा लामो समयदेखि सेवा दिँदै आएका खापुङ पहिलो वरीयतामा रहेका अधिकारी हुन्। यही आधारमा मन्त्रिपरिषद्ले उनलाई ३२औँ प्रहरी महानिरीक्षकका रूपमा चयन गरेको हो। प्रहरी नेतृत्वमा हुने प्रतिस्पर्धा प्रायः विवादास्पद र तानातानपूर्ण हुने गरे पनि यसपटक सरकारको निर्णय तुलनात्मक रूपमा सहज र स्पष्ट भएको बताइन्छ।

हालका महानिरीक्षक दीपक थापा ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार हिजो (भदौ १३ गते) बाट अनिवार्य अवकाशमा गइसकेका छन्। थापाको अवकाशसँगै नेपाल प्रहरीको कमान्ड अब चन्द्रकुवेर खापुङले सम्हाल्ने छन्।

तर, खापुङको कार्यकाल भने लामो हुने छैन। प्रचलित कानुनअनुसार प्रहरी सेवाको अधिकतम अवधि ३० वर्ष भएकाले उनको सेवा अवधि आगामी अढाई महिनामै पूरा हुँदैछ। त्यसपछि संगठनले फेरि नयाँ नेतृत्व पाउनेछ।

प्रतिक्रिया दिनुहोस्