ललितपुर, भदौ १३ – ललितपुर महानगरपालिकाले स्थानीय महिला उद्यमीहरूका उत्पादनलाई सहज बजार पहुँच दिलाउन ‘एलएमसी डिजिटल हाटबजार एप’ सार्वजनिक गरेको छ। महानगरको महिला, बालबालिका शाखामार्फत सार्वजनिक गरिएको उक्त एपमार्फत महिला व्यवसायीले आफ्ना उत्पादन तथा सेवाको प्रचार–प्रसार र बिक्री वितरण गर्न सक्नेछन्।
एप सार्वजनिक समारोहमा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले वर्तमान सूचना प्रविधिको युगमा डिजिटल प्रवर्द्धन अपरिहार्य भएको बताए। उनका अनुसार, एपमार्फत महानगरभित्रका ७५० भन्दा बढी महिला समूह प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। “महिला उद्यमीहरूले यस एपलाई बढीभन्दा बढी प्रयोग गरेर आफ्नो उत्पादनलाई बजारसम्म पु¥याउनुपर्नेछ। ललितपुरले गरेका कतिपय कामहरू अन्य स्थानीय तहले पनि सिक्ने विश्वास छ,” महर्जनले भने।
महानगरले यसअघि सञ्चालन गरेको ‘एलएमसी अलर्ट’ एपमार्फत २२ प्रकारका सेवामा सहजीकरण भइरहेको बताउँदै उनले नयाँ डिजिटल हाटबजारले सेवाग्राहीलाई कोठाकोठा धाउनुपर्ने झन्झट हटाउने विश्वास व्यक्त गरे। उनका अनुसार, एकद्वार सेवा प्रणाली र डिजिटल प्रविधिको प्रयोगले जनप्रतिनिधिलाई रातीबेला फोन गर्ने आवश्यकतासमेत अन्त्य भएको छ।









प्रतिक्रिया दिनुहोस्